School History

Home School History

नेपालमा १०४ वर्षे राणा शासनले शिक्षा क्षेत्रमा थला पारिरहेको वेला इन्डियामा वृटिस सरकारले राज गर्दा नेपाली युवाहरुलाई भर्ती गरी कुशल युद्ध शिक्षा (Army Education) प्राप्त गरेका युवाहरुले शिक्षाको महत्व वुझेर नेपाल फर्किदा सावा अक्षर र अंक (क, ख,ग, र A,B,C,D तथा १,२,३) जस्ता शिक्षाहरु घरभित्र नै आरम्भ भएको देखिन्छ भने नेपालका मुठ्ठीभर शासकहरु राजीनामा, तम्सुक ,बन्धकपत्र ,सामान्य हिसाब किताब साँवा, व्याज गर्न पनि नेपालमा भित्र भित्र राणा शासकहरुले ठूला बडालाई पण्डित राखी शिक्षा भित्र भित्र लिने दिने गरेको पाइएता पनि जनसाधारणका लागि खुल्ला औपचारिक शिक्षा वि.सं.२००७ सालको राणा शासनको  अन्त्य पश्चात गरेका थिए । 
    ठूलो लुम्पेक भनेको  जनजातिको बाहुल्यता भएको र भर्ती भई इन्डिया ,नेपाल आर्मीमा जागिर खाएकाले पनि २००७ सालपछि पनि तुरुन्त स्कूल खोल्न आर्मीका युवाहरुले उत्प्रेरित गरी स्कूल पढाउन प्रयास गरेको पाईन्छ । मन्दिर,चौपारी ,पौवा ,गोठ,पीढि आदिमा शिक्षा सुरु गर्दै धर्मपु्र मा. वि. वि.सं. २०१७ सालमा धारा चौपारी प्राइमरी स्कूलको रुपमा स्थापना भएको थियो । वि.सं. २०३१ सालमा मिडिल स्कूल (कक्षा १ — ७) सम्म नयाँ शिक्षा २०२८ को शिक्षा सँगसँगै खुलेको थियो भने २०५२ सालमा मा.वि. (कक्षा १ —१०) सम्म स्वीकृत भई मा.वि.विद्यालयको रुपमा सञ्चालन भएको थियो । वि.सं. २०६५ सालमा उच्च मा.वि. (कक्षा ११ र १२ )समेत सञ्चालन भएको थियो ।
हाल नयाँ संघीय गणतन्त्र सँगै यस श्री धर्मपुर माध्यमिक विद्यालय ,सत्यवती गाउँपालिका वडा नं ३ ,ठूलो लु्म्पेक गुल्मीमा अवस्थित रहेको छ । ठूलो लुम्पेक साविकको ठूलो लुम्पेक गाउँ विकास समितिमा अत्यधिक मगर जातिहरुको वसोवास भएको क्षेत्र हो  । यसलाई अहिले सत्यवती गाउँपालिकाको वडा नं २ र ३ गरी दुई भागमा विभाजन गरिएको छ । वडा नं. ३ को साविकका छ ओटा वडाहरुमा  तीन ओटा आधारभूत विद्यालय (१—८). र दुइओटा आ.वि. (१—५) र एउटा प्राइमरी बोर्डिङ स्कुल रहेको छ।  साविकको ७ नं वडामा रहेको एकओटा आधारभूत विद्यालय (१—८) र साविक ३ नं वडामा रहेको छ विद्यालयहरु गरी  सातओटा फिडर स्कूलहरुको एक मात्र लिडर स्कुल हो धर्मपुर । यस  क्षेत्रका फिडर स्कुलहरुबाट अन्यत्र कुनै विद्यालयमा अध्ययन गर्न जान नसक्ने अवस्था भौगोलिक कठिनाइले सिर्जना गरेको छ । झण्डै ९० प्रतिशत मगर जातिहरु र दलित जातिहरुको वस्ती भएको क्षेत्र हो ठूलो लुम्पेक ।यहाँ अधिकांश मानिसहरु आर्थिक अवस्था दयनीय रहेको छ साथै चेतनाका हिसाबले पनि पछि परेको देखिन्छ । सामाजिक,आर्थिक, मनोवैज्ञानिक र भौगोलिक कठिनाईका कारणले विद्यार्थीहरु अन्य टाढा टाढा विद्यालयहरुमा गई अध्ययन गर्न जान नसक्ने अवस्था छ । 
यो विद्यालय सत्यवती गा.पा. मा विद्यार्थी संख्याको दृष्टिले दोस्रो स्थानमा रहेको  छ भने  भवन,कक्षाकोठा र फर्निचर, खेलमैदान जस्ता भौतिक संरचनाको दृष्टिकोणले अत्यन्तै नाजुक अवस्थामा रहेको छ जसको कारण विद्यार्थीहरु Dropout गर्ने प्रवृत्ति बढ्दै गएको साथै समुदायका मानिसहरु बसाई सर्ने क्रम अन्यन्त तीव्र रुपमा बढिरहेको छ ।  भौगोलिक विकटता भएकोले बाढी पहिरोले समेत मानव वस्तीमा झन् ठूलो संकट थपेको छ ।झण्डै २ घण्टा टाढाबाट विद्यालयमा कक्षा ९,१०,११ र १२ मा. वि तह अध्ययनको लागि धाउनु पर्ने अवस्था छ ।  बाटोघाटो र यातायातको सुविधाको अभावको कारण विद्यार्थीहरुले विद्यालय आउन निकै सास्ती खेप्नु परेको अवस्था छ । झरी, बादली  अन्य दैवी प्रकोपको वेला विद्यार्थीहरुमा अत्यन्त मानसिक एव. शारीरिक पीडा र कठिनाईका साथ विद्यालयमा अध्ययन गर्न निकै कठिनाई परेता पनि जबर्जस्ती विद्यालय आउनुपर्ने बाध्यता छ तर विद्यालयमा न्युनतम आवश्यक भवन र फर्निचरको अपुग  हुँदा प्रत्यक्ष सिकाइ सहजीकरणका लागि निकै कठिनाई परेका छ । वि.संं २०६३ साल देखि अंग्रेजी र नेपाली दुई माध्यमबाट कक्षा सञ्चालन गर्दा र विद्यार्थी चापका कारण सेक्सन विभाजन गरी शिक्षण गर्नुपर्ने भएकाले कक्षाकोठा र फर्निचरको अभावका कारण विद्यार्थीहरुलाई खुल्ला आकाशमुनि शिक्षण गर्नुपर्ने अवस्था छ एकातिर भने अर्कोतिर आवश्यक शिक्षक र शैक्षिक सामग्रीहरुको व्यवस्थापन गर्ने कुरा धेरै टाढाको विषय बनेको छ ।फलस्वरुप विद्यालयलाई झन् ठूलो व्यवस्थापकीय समस्या परेको छ ।
अति नै गरिव जनजाति र दलित समुदायमा शुल्क  उठाई व्यवस्थापन गर्ने भन्ने कुरा आफैमा चुनौतीपूर्ण कुरा हो ।  यस्तो अवस्थामा सरकारले विद्यार्थी शिक्षक अनुपात मिल्ने गरी शिक्षक दरबन्दी दिन नसकेको अवस्थाले पनि थप व्यवस्थापकीय पक्षमा समस्या थपेको छ ।यसका वावजुद पनि विद्यालयले नैतिकवान,चरित्रवान,स्वावलम्बी र आदर्श समाज निर्माण गर्न टेवा पुर्याउने किसिमको नागरिक निर्माण  तथा आधुनिक, वैज्ञानिक ,प्राविधिक शिक्षा प्रदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष,क्षमतावान जनशक्ति निर्माण गर्ने महान अभियानका लागि विभिन्न भिजन र मिसन बनाई अगाडि बढिरहेको छ ।